साताको शेयर समीक्षा : बजारलाई मौद्रिक नीतिको साथ !
Last updated at 08:47 am
यो साता धितोपत्र बजार ७१ दशमलव ३० अंकले बढेको छ ।
साताभर नेप्से परिसूचक सकारात्मक हुँदा अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ हजार ८१५ दशमलव शून्य ४ विन्दुमा बन्द भएको छ । अघिल्लो साता नेप्से परिसूचक २ हजार ७४३ दशमलव ७४ विन्दुमा बन्द भएको थियो ।
यो साता पनि धितोपत्र बजारमा चार दिन कारोबार भएको छ । बुधबार सार्वजनिक विदाका कारण बजार बन्द थियो।अघिल्लो साता पनि चार दिन नै कारोबार भएको थियो ।लगातार बढेको धितोपत्र बजार यो साता ७१ दशमलव ३ अंकले बढेको छ । त्यसो त अघिल्लो साता पनि बजार ६५ दशमलव २७ अंकले बढेको थियो ।
यसैगरी, यो साता ४३ अर्ब ९३ करोड रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको छ । अघिल्लो साता भने ३८ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको थियो ।
यो साता आइतबार नेप्से परिसूचक ११ दशमलव ६६ अंकले बढेको थियो । उक्त दिन ११ अर्ब ४२ करोड रुपैयाँ बराबको शेयर कारोबार भएको थियो ।
त्यस्तै, सोमबार भने नेप्से परिसूचकमा झिनो वृद्धि देखियो । ३ दशमलव ३५ अंकले बजारमा १० अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।त्यस्तै,मंगलबार नेप्से परिसूचक ७ दशमलव १३ अंकले बढेको थियो । यो दिन कारोबार रकम घटेर ९ अर्ब ६१ करोडमा सीमित भएको थियो ।
मंगलबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । उक्त समीक्षाले खासगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल कर्जाको प्रोभिजनिङलाई शून्य दशमलव १० प्रतिशत विन्दुले घटाएर एक प्रतिशतमा झार्ने नीतिगत निर्णयका कारण बिहीबार खुलेको धितोपत्र बजार एकै दिन ४९ दशमलव १५ अंकले बढेको बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार यो साता धितोपत्र बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबेको बढेको छ। यो साता बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो साता यस्तो बजार पूँजीकरण ४५ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको थियो । यो साता बजार र कारोबार बढेकाले बजार पूँजीकरण पनि १ खर्ब २० अर्बले बढेको देखिन्छ।
नेप्से परिसूचक दुई सातादेखि निरन्तर बढ्दै आएको देखिन्छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढ्नमा भने पुनर्बीमा कम्पनी प्रभाव मूख्य कारण देखिन्छ। यो साता बजारमा अन्य समूह सबैभन्दा धेरै अर्थात् १० दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । गत साता पनि सोही सेक्टर सबैभन्दा धेरै ७ दशमलव २३ प्रतिशतले बढेको थियो ।
नेपालमा पुनर्बीमा कम्पनीको रुपमा नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स छ । यी दुबै कम्पनी अन्य समूहमा नेप्सेमा सूचीकृत छन् ।१३ अर्ब ४२ करोड रुपैयाँ चुक्तापूँजी भएको नेपाल पुनर्बीमा कम्पनी र १० अर्ब ७१ करोड रुपैयाँको चुक्तापूँजी हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य वृद्धिका कारण समग्र बजार माथि उक्लिन टेवा पुगेको देखिन्छ।
दुई साताअघि प्रतिकित्ता शेयरमूल्य ८४४ रुपैयाँ रहेको हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य अन्तिम कारोबार दिन बिहीबार १ हजार २९ रुपैयाँ पुगेको छ । त्यस्तै, दुई साता अघि ९०० रुपैयाँ हाराहारीमा रहेको नेपाल रिइन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता अहिले १ हजार ३२१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष माघमा नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापूँजी एक वर्षभित्र २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । यो अवधि घर्किसकेकोले ती कम्पनीहरूलाई पूँजी वृद्धि गर्ने दबाब छ ।
यो साता अन्य समूहपछि उत्पादन तथा प्रशोधन समूह पनि ६ दशमलव ९८ प्रतिशतले बढेको छ ।यो साता कारोबारका आधारमा शिर्ष स्थानमा हिमालयन रिइन्स्योरेन्स छ। सो कम्पनीको ३ अर्ब ८४ करोड रुपैयाँ बरारबको कारोबार भएको छ। यसपछि नेपाल पुनर्बीमा, एनआरएन इन्फास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स लगायत छन् ।त्यसो त कारोबार संख्याका आधारमा पनि हिमालयन रिइन्स्योरेन्स नै शिर्ष स्थानमा रहेको छ । यसपछि नेपाल रिइन्स्योरेन्स,सिटिजन लाइफ,निफ्रालगायत छन् ।
शेयर बजार विश्लेषकहरु मर्जरको सम्भावना पनि नभएका ती कम्पनीलाई ठूलो परिमाणमा हकप्रद शेयर यात बोनस शेयर दिनुपर्ने अवस्था रहेकोले मूल्य बढेको हुनसक्ने बताउँछन् ।यतिमात्र नभएर धितोपत्र बजार मैत्री मौद्रिक नीति आएका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
अधिकांश लगानीकर्तामा अब बजार बढ्ने विश्वास बढेको देखिन्छ ।लगानीकर्ताको खरिदपक्ष बलियो देखिएकै कारण बिहीबार मात्रै बैंकिङ समूह ३ दशमलव ३२ प्रतिशतले बढेका यिो । यसबाट आगामी दिनमा बजारलाई बैंकिङ समूहले बढाउने पूर्वानुमान गर्न सकिन्छ ।
मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई असल कर्जामा छुट्याउनुपर्ने प्रोभिजन दर घटाएको छ । लगानीकर्ता केशव पाण्डे यो नै बैंकिङ समूह बढ्ने सुरुवाती आधार भएको बताउँछन् ।