नेप्सेको सीईओको लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
Last updated at 05:29 pm
अर्थमन्त्रालयले बजार सञ्चालक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित मन्त्रालय अन्तरगतको सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क बमोजिम आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।
यसका साथै पूँजीबजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेका उम्मेदवारहरुले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ ।
आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ लाग्ने छ । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा आवेदन दस्तुर बुझाएको सक्कल भौचर आवेदनसाथ संलग्न गर्नुपर्ने छ ।सीईओले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेप्सेले तोकेबमोजिम हुने छ ।
अर्थ मन्त्रालयले नेप्सेको सीईओ नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा खोमराज खरेल छन् ।
हेर्नुहोस् सूचना :
यो पनि हेर्नुहोस् :
को बन्ला त नेप्सेको सीईओ, अर्थ मन्त्रालयले बनायो समिति