को बन्ला त नेप्सेको सीईओ, अर्थ मन्त्रालयले बनायो समिति
Last updated at 07:32 am
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रिक्त पदमा खुला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्न अर्थ मन्त्रालयले समिति बनाएको छ ।
खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको हो ।अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा खोमराज खरेल छन् ।
नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको पदावधि गत माघ २५ गते सकिएको छ ।उनी तीन वर्षको कार्यकाल सकाएर नेप्सेबाट बिदा भएका हुन्।
हुन त उनी बिदा हुनुभन्दा अघि नै नेप्सेका कर्मचारीले नयाँ दक्ष व्यक्ति नियुक्ति गर्न भन्दै सरकारसँग माग गरेका छन्। नेप्से कर्मचारी संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग माग गरेको हो।
संघले यसअघि जारी गरेको विज्ञप्तिमा पूँजीबजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको औंल्याउदै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पूँजीबजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पूँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनरसंरचना कार्य गर्न गराउन सक्ने व्यक्तिलाई छनोट गरी पठाउन माग गरिएको छ।