धितोपत्रबजारबाट पौने ११ अर्ब पूँजीगत लाभकर संकलन, सबैभन्दा धेरै साउनमा
Last updated at 07:00 am
चालू आर्थिक वर्षको सात महिनामा धितोपत्र खरिदबिक्रीबाट पौने ११ अर्ब राजस्व संकलन भएको छ ।
सरकारले साउनदेखि माघ महिनासम्ममा पूँजीगत लाभकर वापत १० अर्ब ८३ करोड ९४ लाख आम्दानी गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब पाँच गुणा बढी हो ।
सरकारले गत आवको सोही अवधिसम्ममा २ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालू आर्थिक वर्षको सात महिनामा धितोपत्रबजारबाट सबैभन्दा धेरै पूँजीगत लाभकर साउनमा उठेको छ भने सबैभन्दा कम पुस महिनामा उठेको छ ।
चालू आर्थिक वर्षको शुरुमा शेयरबजार निरन्तर बढ्दा आम्दानी बढेको देखिन्छ । साउन महिनामा ४ अर्ब २३ करोड पूँजीगत लाभकर संकलन हुँदा पुसमा ५८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
यसैगरी,भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड, कात्तिका ७५ करोड, मंसिरमा १ अर्ब ४ करोड र माघमा १ अर्ब ५ करोड पूँजीगत लाभकर संकलन भएको छ ।