साताको शेयर समीक्षा : बजारले गति लिने अपेक्षा
Last updated at 07:19 am
यो साता बजार घटेको छ । पाँच दिन कारोबार भएको बजार यो साता २१ अंकले घटेको छ।
पाँच कारोबार दिनमा बजार तीन दिन घटेको छ भने दुई दिन बजार बढेको छ ।अघिल्लो साता २ हजार ६९९ दशमलव ८१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७८ दशमलव ४७ विन्दुमा बन्द भएको छ ।
यो साता आइतबार ८ अर्ब ३९ करोड, सोमबार ६ अर्ब ९६ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ८ अर्ब ७१ करोड र बिहीबार ७ अर्ब ९२ करोडको कारोबार भएको छ ।
अर्थात् सातामा समग्रमा यो साता ३९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो साता भने यस्तो कारोबार ५१ अर्ब ९५ करोड बराबर थियो । यो साता धितोपत्र बजारमा सूचक र कारोबार दुबै घटेको छ। यो साता बजार पूँजीकरण ४४ खर्ब ४६ अर्ब रहेको छ ।
यो साता धितोपत्र दोस्रो बजारको पूँजीकरण ३२ अर्ब ९३ करोड ६५ लाख रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ४४ खर्ब ४६ अर्ब ४६ करोड ११ लाख रुपैयाँ कायम भएको छ।
यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ७९ प्रतिशत घट्दा कुल बजार पूँजीकरणमा असर परेको हो ।
यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । यो साता सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य १ प्रतिशत घटेर ४४९ दशमलव ८८ विन्दुमा झरेको हो ।
यो साता वित्त समूह सबैभन्दा धेरै अर्थात् २ दशमलव ६८ प्रतिशतले बढेको थियो । त्यसो त गत साता पनि वित्त समूह नै सबैभन्दा धेरै अर्थात् ५ दशमलव ७ प्रतिशतले बढेको थियो ।
यो साता उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै अर्थात् २ दशमलव ६६ प्रतिशतले घटेको छ । गत साता भने विकास बैंक समूह सबैभन्दा धेरै अर्थात् २ दशमलव ३ प्रतिशतले घटेको थियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार सीईडीबी होल्डिङ्सले गरेको छ। सातामा उक्त कम्पनीको १ अर्ब ४७ करोडको कारोबार भएको छ।
त्यसैगरी, रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, न्यादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, नेपाल रिपब्लिक मिडिया, युनाइटेड मोदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनीको अग्रस्थानमा छन् ।
बजारमा अझै अन्यौल देखिएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छन् ।तापनि बजारले २ हजार ६७६ विन्दुको टेवा पाएकाले बजार अगाडि बढ्न खोजिरहेको संकेत देखिन्छ । बजारले सो विन्दुबाट घट्न नचाहेकाले आगामी साता बजारले गति लिने अपेक्षा लिएको लगानीकर्ताहरु बताउँछन् ।