दुई लघुवित्त कम्पनीले धितोपत्र बोर्डबाट पाए एफपीओ निष्कासनको अनुमति
Last updated at 02:58 pm
दुई अलग- अलग लघुवित्त कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्न अनुमति पाएका छन्।
बोर्डले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासन गर्न अनुमति दिएको हो ।नेपाल धितोपत्र बोर्ड(सेबोन) ले कम्पनीलाई एफपीओ निष्कासन गर्न गत माघ ३० गते अनुमति दिएको हो ।
कम्पनीले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।अब कम्पनीले १०० रुपैयाँ अंकित रुपैयाँ मूल्यका ५१ हजार २९२ दशमलव ५० कित्ता एफपीओ निष्कासन गर्नेछ ।विगत एक वर्षअघि विन लघुवित्त र नेपाल सेवा लघुवित्त एकापसमा मर्जर भएका थिए ।
नेपाल सेवा लघुवित्तले आईपीओ निष्कासन गरिसकेको छ भने विन लघुवित्तले आईपीओ निष्कासन गरेको थिएन । मर्जर पछि बनेको विन नेपाल लघुवित्त वित्तीय संस्थामा संस्थापक शेयरतर्फको हिस्सा बढेकाले सर्वसाधारणमा थप शेयर निष्कासन गर्नु परेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ हजार ७०५ रुपैयाँ छ ।
यसैगरी, स्वरोजगार लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार १३ रुपैयाँ छ ।
सर्वसधारण समूहमा ३० प्रतिशत शेयर पुर्याउनका लागि दुबै कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।