नेप्से पुनर्संरचना र दक्ष व्यक्ति सीईओमा नियुक्त गर्न सरकारसँग माग
Last updated at 12:35 pm
धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णबहादुर कार्कीको पदावधि शुक्रवार अर्थात् आगामी माघ २५ गते सकिन लागेको छ ।
उनी तीन वर्षको कार्यकाल सकेर नेप्सेबाट बिदा हुन लागेका हुन् । हुन त उनको यो कार्यकालमा पनि नेप्सेले कुनै ठोस नयाँ काम गरेको देखिएन। उनले नियुक्ति पाउँदै गर्दा नेप्सेको पुनर्संरचना, डेरिभेटिभ प्रडक्ट लन्च गर्ने र नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको एक्सचेञ्ज बनाउने प्रतिबद्धता जनाएका थिए।
तर उनले आफ्नो कार्यकालमा कुनै पनि नयाँ काम गरेनन् ।हो, यस्तो अवस्था देखेरै हुन सक्छ, नेप्से कर्मचारी संघले नेप्सेमा क्षमतावान र दक्ष सीईओ नियुक्त गर्दै संस्थाको पुर्नसंरचना गर्न सरकारसँग माग गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै संघले अब नियुक्त हुने सीईओ पूँजीबजारको विषयमा गहिरो ज्ञान, व्यावसायिक क्षमता भएको र नेप्सेको पुर्नसंरचना गराउन सक्ने व्यक्ति हुनुपर्ने भनेको छ ।
साथै उसले साना तथा मझौला कम्पनीको शेयर कारोबार गर्ने/गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अद्यावधिक गराउने लगायतका कार्य जरुरत रहेको उल्लेख गर्दै ती कार्य अघि बढाउन पूँजीबजारको विषयमा गहिरो ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको औंल्याएको छ ।
सरकारले नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने तयारी गरेसँगै नेप्सेको अस्तित्व संकटमा पर्न सक्ने जोखिम रहेकोमा पनि उसले चिन्ता व्यक्त गरेको छ ।जसले गर्दा उसले बारम्बार नेप्सेको पुर्नसंरचनामा जोड दिंदै आएको छ ।