शेयर समीक्षा : सातामा सामान्य अंकले बढेको बजार अब कता जाला ?
Last updated at 07:24 am
यो साता बजार सामान्य अंक बढेर बन्द भएको छ। गत साता २ हजार ६५४.३५ विन्दुमा बन्द भएको बजार यो साता भने ० दशमलव १३ प्रतिशत अर्थात ३.४२ अंकले बढेर २ हजार ६५७ दशमलव ७७ विन्दुमा बन्द भएको छ।
यो साता शेयर बजारमा तीन दिन मात्रै कारोबार भएको छ । सार्वजनिक विदाका कारण यो साता बजार जम्मा तीन दिन मात्रै खुला रहेको थियो।जम्मा तीन दिनमा बजार दुई दिन घटेको छ भने एक दिनमात्रै बढेको छ। अघिल्लो साता २ हजार ६५४ दशमलव ३५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५७ दशमलव ७७ विन्दुमा बन्द भएको छ। समग्रमा यो साता बजार ३ दशमलव ४२ अंकले बढेको छ ।
आइतबार १० दशमलव ४१ र सोमबार १० दशमलव ६१ अंकले घटेको बजार मंगलबार भने २४ दशमलव ५० अंकले बढेको थियो । यो साता कारोबार रकम केही बढेको देखिएको छ ।
अघिल्लो साता भने बजार ६५ दशमलव ७३ अंकले बजार बढेको थियो । त्यस्तै यो साता जम्मा २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता भने ३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । समग्रमा यो साता औषतमा ९ अर्ब रुपैयाँ बराबरकको कारोबार भएको छ ।
नेप्सेका अनुसार यो साता बजार पूँजीकरण ४४ खर्ब ९ अर्ब रुपयाँको छ। अघिल्लो साता भने बजार पूँजीकरण ४४ खर्ब थियो । यो साता नेप्से सामान्य अंकले बजार बढेकाले बजार पूँजीकरण पनि ९ अर्बले बढेको छ ।यस साता नेप्सेको कुल बजार पूँजीकरण शून्य दशमलव १५ प्रतिशत बढेको छ।
यो साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने सात वटा उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ४६ प्रतिशत बढेको छ।यो साता विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएको देखिन्छ। गत साता पनि विकास बैंक उपसमूह ३ दशमलव ३८ प्रतिशत बढेको थियो । विकास बैंकमा पनि ‘लोक्याप’ कम्पनीको मूल्य उच्च दरमा बढेको देखिन्छ ।
‘हाइक्याप’ विकास बैंकको मूल्यवृद्धिदर तुलनात्मक रुपमा न्यून छ तर कर्पोरेट डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, सिन्धु, मितेरीजस्ता लोक्याप कम्पनीको मूल्य उच्च दरमा बढेको छ । अघिल्लो साता पनि विकास बैंक र जलविद्युत् उसपमूहको बजार राम्रो बढेको थियो। विकास बैंकपछि जलविद्युत् उससमूह पनि यो साता २ दशमलव ४ प्रतिशत ले बढेको छ ।
जलविद्युत् कम्पनीहरुले माघ मसान्तसम्ममा दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने तयारी गरेका छन् । दोस्रो त्रैमासिक रिपोर्ट राम्रो आउने अनुमान रहेकाले यसतर्फ आकर्षित भएको जस्तो देखिन्छ।