ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ माघ २१ गतेदेखि निष्कासनमा
Last updated at 06:30 pm
ओम मेगाश्री फर्मास्यूटिकल्सले आगामी माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
यसैगरी, कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागु ५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।