जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई नबिल बैंकद्वारा कम्बल वितरण
Last updated at 07:21 pm
नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । कम्पनीले भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरेको हो ।
कम्पनीले एक कार्यक्रमका बीच हालै नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको हो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यसपटक कम्बल वितरण गरिएको कम्पनीले जनाएको छ ।
उक्त अवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यसवर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा बैंकलाई धन्यवाद दिए ।
विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको बताएको छ ।