प्रभु बैंकको नाफा ८४ % बढ्यो,यस्ता छन् अन्य सूचक
Last updated at 07:34 pm
प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा आर्जन गरेको छ । उक्त अवधिसम्ममा कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ ।
सोमबार प्रकाशित कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष त्यस अवधिमा कम्पनीको नाफा ७२ करोड रुपैयाँ मात्रै थियो ।
कम्पनीले खुद नाफा वृद्धि गरे पनि वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोडले ऋणात्मक छ । गत वर्ष यस्तो नाफा १ अर्ब ८६ करोडले ऋणात्मक थियो ।
कम्पनीले ब्याज आम्दानी तथा कमिसन एवम् शुल्कबापतको आम्दानी दुवै सामान्य बढाएकोले र इम्पेरिमेन्ट शुल्क घटाएकाले नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष १ अर्ब २६ करोड रहेको कम्पनीको इम्पेरिमेन्ट शुल्क अहिले ८१ करोडमा झरेको छ ।
नाफा बढ्दा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११ रुपैयाँ पुगेको छ भने पीई रेसियो १९.३६ मा झरेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ ।