रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासनमा, कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक
Last updated at 10:15 am
रिलायन्स स्पिनिङ्ग मिल्सले आगामी मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्ने भएको हो ।
बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत् आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा १४ मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छूट दिँदा हुन आउने प्रतिकित्ता ८२० दशमलव ८० रुपैयाँ शेयर मूल्य तोकिएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम शेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।
