कुमारी बैंकको अगुवाईमा ९० मेवा क्षमताको मर्स्याङ्दी नदी जलविद्युतका लागि लगानी सम्झौता
Last updated at 09:19 am
कुमारी बैंकको अगुवाइमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानी सम्बन्धी सम्झौता भएको छ ।
एमए पावर प्रालिले उक्त आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण गर्नेछ ।
लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षीतिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता भएको हो ।
स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै, डोल्मा इम्प्याक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले बताए ।सोही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड मार्फत् २२ मेगावाट सेतीखोला जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग १ कात्तिक २०८० मा विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति (आरसीओडी) २२ वैशाख, २०८६ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले बताए ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११ दशमलव ६ किलोमिटर दुरीमा प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिने छ ।