साताको शेयर समीक्षा : बाउन्स ब्याक हुने आशामा लगानीकर्ता
Last updated at 06:59 pm
यो साताभर धितोपत्र बजार घटेको छ यो साता धितोपत्र बजार ६७ अंक अर्थात् २ दशमलव ४४ प्रतिशत घटेको छ ।
गत साता २ हजार ७३६ अंकमा रहेको बजार यो साता २ हजार ६६९ अंकमा झरेको छ । गत साता पनि बजार ८२ अंक अर्थात् २ दशमलव ९ प्रतिशतले घटेको थियो । यो साता पाँचै दिन कारोबार भएको छ। अघिल्लो साता भने चार दिन मात्रै कारोबार भएको थियो । यो साता धितोपत्र बजारमा २६अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ।अघिल्लो साता भने ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समग्रमा यो साता पनि धितोपत्र बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घटेको छ।
यो साता धितोपत्र बजार लगातार घटेका कारण बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब रुपैयाँ कायम भएको छ । यो अघिल्लो साता बजार पूँजीकरण ४५खर्ब ४३ अर्ब रुपैयाँ बराबरथियो । यो साता बजार घट्दा बजार पूँजीकरण पनि घटेर १ खर्ब ११ अर्ब रुपैयाँ बराबर लगानीकर्ताहरुको सम्पत्ति घटेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार पछिल्लो दुई सातामा बजार १४९ अंकले घटिसकेको छ ।
बजार सञ्चालक नेप्सेले नेपालमा पहिलो पटक यो साताको अन्तिम कारोबार दिन शुक्रबारदेखि नेप्सेले बजारमा भारित औसत मूल्यका आधारमा अन्तिम शेयर मूल्य कायम हुनेगरी गणना विधि लागू गरेको छ ।यो विधिबाट अपरान्ह २ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएको भारित औसत मूल्य नै शेयरको अन्तिम मूल्य तय हुन थालेको छ।यसले बजारलाई थप स्वच्छ र प्रतिस्पर्धी बनाउने मद्धत मिल्ने लगानीकताको अपेक्षा छ ।
यो साता व्यापार समूह बाहेक अरु सबै समूह राते भएका छन् । यो साता या समूहको विशाल बजारको मूल्य सामान्य बढेकाले नै व्यापार समूह बढेको देखिन्छ । व्यापार समूह १ दशमलव ५५ प्रतिशतले बढेको छ। गत साता यो समूह चार प्रतिशत घटेको थियो । यसैगरी, यो साता वित्त समूह सबैभन्दा धेरै अर्थात् ४ दशमलव १९ प्रतिशतले घटेको छ ।
कतिपय लगानीकर्ताहरु निरन्तर बजार घटेका कारण यो साता बजार बाउन्स ब्याक हुने बताउँछन् ।उनीहरुका अनुसार बजार तिव्र रुपमा घटेको र लगानीकर्ताले नाफा बुक गरेको र करेक्सनसमेत आइसकेकोले यो साता बजार बढ्ने निश्चित छ।
बजार थप घट्नु पर्ने कारण पनि केहि छैन।लगानीकर्ता रमेश बोहरा अघिल्लो साता राजतन्त्रको पक्ष र विपक्षमा चर्चा परिचर्चा भएका कारण लगानीकर्तामा त्रास बढेकोले बजारमा असर परेको देखिएता पनि यो साता बजारमा सुधारका संकेत देखिने बताउँछन् ।उनका अनुसार न्यून ब्याजदर, सबल वाह्य आर्थिक सूचक, पर्याप्त तरलताजस्ता विषय सकारात्मक भएकाले बजार घट्नु पर्ने कारण छैन।