साताको शेयर समीक्षा : बजारले वृद्धिलाई निरन्तरता दिने संकेत !
Last updated at 07:41 am
यो साता धितोपत्र बजार ४२ अंकले बढेर वृद्धिलाई निरन्तरता दिएको छ । कारोबार र नेप्से परिसूचक बढेका कारण बजारले यो साता लय समातेको देखिन्छ ।
गत साता २ हजार ६५७ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६९९ विन्दुमा बन्द भएको छ । यो साता पाँचै दिन कारोबार भएको छ।अघिल्लो साता भने सार्वजनिक विदा परेका कारण तीन दिनमात्र कारोबार भएको थियो।सातामा दुई कारोबार दिन बजार बढेको छ भने बाँकी कारोबार दिन घटेको छ। पहिलो कारोबार दिन आइतबार ६९ दशमलव ८० अंक बढेको बजार सोमबार थप २ दशमलव ४१ अंकले बढेको थियो ।
त्यसपछिका तीन दिन भने लगातार घटेको थियो । नेप्सेका अनुसार मंगलबार १४ दशमलव ०८, बुधबार ४ दशमलव ४५ र बिहीबार ११ दशमलव ६४ अंकले बजार घटेको देखिन्छ । बजारमा उतारचढाव आएता पनि करेक्सन आएकाले समग्रमा यो साता बजारले वृद्धिलाई निरन्तरता दिएको देखिन्छ । गत साता जम्मा ३ अंकले बजार बढेको देखिन्छ ।
यो साता पाँच कारोबार दिनमा ५१ अर्ब ९५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।पहिलो कारोबार दिन आइतबार मात्रै सवैभन्दा धेरै अर्थात् १२ अर्ब ९५ करोडको कारोबार भएको थियो । जुन कारोबार रकम भदौ महिनायताकै उच्च हो । त्यसपछि अन्य कारोबार दिनमा बजार सुस्ताउँदा कारोबार रकम पनि बढ्न सकेन ।अघिल्लो साता तीन कारोबार दिनमा २७ अर्ब ४५ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५ करोड २६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
नेप्सेका अनुसार सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको कारोबार भएको देखिन्छ ।
अघिल्लो साताभन्दा यो साता औसत कारोबार रकम ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी भएको देखिन्छ ।बजार सकारात्मक बनेकाले कुल बजार पूँजीकरण पनि ७० अर्ब २५ करोड रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कायम भएको छ।
यो साता वित्त समूह सबैभन्दा धेरै अर्थात् ५ दशमलव ७ प्रतिशतले बृद्धि भएको देखिन्छ । गत साता यो समूह शून्य दशमलव ३९ प्रतिशत बढेको थियो । वित्त समूह लामो समय दखि घटेका कारण लगानीकर्ता पछिल्लो समयमा भने आकर्षित छन् । बजारमा १५ वटा वित्त कम्पनी सूचीकृत छन् ।
गत साता सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ । अघिल्लो साता भने यो नै धेरै बढेको थियो । गत साता यो समूह ५ दशमलव ४६ प्रतिशत बढेको थियो भने यो साता २ दशमलव ३७ प्रतिशत घटेको छ ।बीमा समूह पनि यो साता विकास बैंकपछि ३ प्रतिशतभन्दा धेरै बढेको छ। बैंकिङ समूह पनि १ दशमलव ८७ प्रतिशत बढेको देखिन्छ।
समग्रमा यो साता बजारले बृद्धिलाई निरन्तरता दिएको र बजार घट्नुपर्ने अन्य कुनै कारणहरु पनि नरहेकाले अगामी साता बजार बढ्ने संकेत देखिएको लगानीकर्ताहरुको भनाइ छ। एक जना लगानीकर्ता केशब सुवेदी बजारले लय समातेको संकेत कारोबार र सूचकले प्रष्ट पारिसकेको बताउँछन्।