स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धक नियुक्त
Last updated at 03:32 pm
स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । क्रम्पनीले निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको बताएको छ ।
कम्पनीले प्राथमिक शेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।आइतबार भएको सो सम्झौतामा उक्त कम्पनीको अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्यनारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले नेपालको दुग्ध उत्पादन उद्योगको रुपमा उत्कृष्टता प्रमाणित गर्दै दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दही, घ्यू, चकलेट र पनिरलगायतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्दै आएको छ ।
स्वदेशि उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्म निर्भर बनाउने र उपभोक्ताहरुका लागि “गोठदेखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित उ्रक्त कम्पनीले हाल धनुषा जिल्लाको गोदारमा दुई बीघा जमीनमा जर्सी तथा होल्स्टोन जस्ता उत्कृष्ट जातका ३५ थान गाईहरुबाट दैनिक २०० लिटरभन्दा बढी दुग्ध उत्पादन गरी बिक्री बितरण गर्दै आइरहेको छ ।
यसैगरी, कम्पनीले निकट भविष्यमा ६५ थान गाईहरु थप गरी १०० थान गाईहरु पुर्याउने उद्देश्यले सेड तयार बनाई सकिएको बताएको छ ।
कम्पनीले निकट भविष्यमा प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको छ ।