पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड, शिर्षस्थानमा नबिल बैंक
Last updated at 11:06 am
चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकले साउनदेखि मंसिर महिनासम्ममा उक्त रकम बराबरको नाफा आर्जन गरेका हुन् ।
केन्द्रीय बैंकका अनुसार कात्तिक मसान्तसम्म यस्तो नाफा २२ अर्ब २९ करोड रुपैयाँ मात्र थियो । जसअनुसार मंसिर महिनामा मात्रै ती कम्पनीहरुले ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको थप नाफा कमाएका छन्। त्यसो त अघिल्लो आर्थिक वर्षको पाँच महिनाको अवधिमा ती कम्पनीहरुले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । यसलाई आधार मान्दा उक्त अवधिमा यस वर्षको नाफा ६.६० प्रतिशतले बढी हो ।
सो अवधिमा धेरै नाफा आर्जन गर्ने शिर्षस्थानमा नबिल बैंक छ । उक्त कम्पनीले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । उक्त कम्पनीले २ अर्ब ८३ करोड नाफा कमाएको छ । त्यस्तै सोही अवधिमा नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४९ करोड, कुमारी बैंकले १ अर्ब ९९ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ९६ करोड, प्राइम कमर्शियल बैंकले १ अर्ब ९४ करोड तथा एनएमबि बैंकले १ अर्ब ९० करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।
त्यस्तै, प्रभु बैंक १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक १ अर्ब ६४ करोड, नेपाल बैंक १ अर्ब ५१ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ३४ करोड, हिमालयन बैंक १ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यसैगरी,सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख, एनआईसी एसिया बैंकले ६ करोड ३३ लाख नाफा कमाएको छ । त्यस्तै कृषि विकास बैंक भने सो अवधिमा ३ करोड ५२ लाख रुपैयाँ घाटामा रहेको छ ।