हिमालयन बैंकको साधारण सभा सम्पन्न,एकीकृत वित्तीय विवरण पनि पारित
Last updated at 07:25 pm
हिमालयन बैंकले सोमबार वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा कम्पनीका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । सभाले बैंक तथा यसका सहायक कम्पनीसहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिकोतर्फबाट अध्यक्ष श्रेष्ठले दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइसकेको जानकारी बताए । साथै उनले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए ।
यसैगरी,उनले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको बताए ।
त्यस्तै, उनले बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रुपैयाँ रहेको जानकारी दिए ।
सो अवसरमा यस समीक्षा वर्षमा कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा ब्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रुपैयाँ असुली गर्न सफल भएको जानकारी दिइयो ।