सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, १०% लाभांश पारित
Last updated at 03:57 am
सर्वोत्तम सिमेन्टको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले शेयरधनीहरुका लागि १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका आयोजित सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीका लागि उक्त लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
पारित लाभांशमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश छ । जसअनुसार कम्पनीले ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस शेयर र १३ करोड ९५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वित्तीय विवरण,आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव लगायतका अजेण्डा पारित गरेको छ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ । बोनस शेयर वितरणपछि चुक्तापूँजी बढेर ५ अर्ब ३० करोड १० लाख पुग्नेछ ।
उक्त कम्पनी धितोपत्र बजारमा सूचीकृत सिमेन्ट कम्पनीमध्ये सबैभन्दा बढी दोश्रो बजार मूल्य भएको कम्पनी हो ।