एभरेष्ट बैंकको ३अर्बको ऋणपत्र फागुन १८ गतेदेखि निष्कासनमा
Last updated at 05:20 pm
एभरेष्ट बैंकले आगामी फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल इकाईमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोडबराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गरिने कम्पनीले प्रकाशित गरेको विवरणपत्रमा उल्लेख छ । यसैगरी, सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
उक्त ऋणपत्रमा वार्षिक ७ दशमलव ५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।उक्त ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र विभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।