नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 05:20 pm
नेपाल माइक्रो इन्स्योरेन्सले आज आइतबार अर्थात् फागुन ११ गतेदेखि आईपीओ निष्कासनमा आएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेकाले अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदकले फागुन १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल छ।आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।