यी हुन् एफपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु
Last updated at 05:03 pm
लामो समयदेखि विभिन्न कम्पनीहरु फर्दर पब्लिक अफरिङ अर्थात् एफपीओ निष्कासनको अनुमतिको प्रतीक्षामा छन्।
नेपाल धितोपत्र बोर्ड(सेबोन) को पाइपलाइनमा उल्लेख भएअनुसार हालसम्ममा किसान लघुवित्त,विजय लघुवित्त,नेसनल लघुवित्त र बुटवल पावर कम्पनी एफपीओ निष्कासनको लागि अनुमतिको पर्खाइमा छन् ।
ती कम्पनीहरु अंकित मूल्य १०० रूपैयाँमा नै एफपीओ निष्कासन गर्ने योजनामा छन्। कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत शेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार अनुपात मिलाउन एफपीओ जारी गर्नुपर्ने व्यवस्था छ ।
एकपटक सर्वसाधारणमा शेयर जारी गरिसकेका कम्पनीहरूले फेरि सर्वसाधारणमा शेयर जारी गर्नुपरेमा एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान छ । त्यसो त हालै मात्र समता घरेलु लघुवित्त, सूर्योदय वोमी लघुवित्त, उन्नति सहकार्य लघुवित्त र महुली लघुवित्तले एफपीओ निष्कासन गरेर बाँडफाँट समेत गरिसकेका छन्।
उता लामो समयपछि सेबोनले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासन गर्न अनुमति दिइसकेको छ।
सेबोनका अनुसार किसान लघुवित्त वित्तीय संस्थाले अंकित मूल्य १०० रूपैयाँका दरले १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको छ ।
यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।यसैगरी,बुटवल पावर कम्पनीले प्रतिकित्ता प्रमिमियसमेत थपेर २०६ दशमलव २९ रूपैयाँमा १ करोड कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको छ ।जसमा कम्पनीले २ अर्ब ६३ करोड रूपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने योजना बनाएको छ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।
त्यसैगरी,नेशनल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले ६ लाख ६९ हजार ९०० कित्ता एफपीओ निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड छ।
त्यस्तै, विजय लघुवित्तले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको छ ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलले छ।
नेटवर्थको दुई गुणासम्म मात्रै मूल्यमा एफपीओ निष्काशन गर्न अनुमति दिने नीति सेबोनले लिएपछि पछिल्लो समय एफपीओ निष्कासन गर्ने कम्पनीमा कमी आएको छ । हाल एफपीओ निष्कासन गर्नेहरुमा भने माइक्रोफाइनान्स कम्पनी मात्रै अग्रस्थानमा छन् ।
चालू आर्थिक वर्षको सात महिनाको अवधिमा चार वटा कम्पनीले एफपीओ निष्कासन गर्ने अनुमति पाएका छन् ।
कम्पनीहरुले सामान्यतया एफपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न पाउने भएता पनि केहि वर्षअघि भित्र धेरै लघुवित्त कम्पनीहरु मर्जरमा गएका थिए । बैंक तथा वित्तीय संस्थामा संस्थापक र सर्वसाधारणको पूँजी संरचना न्यूनतम ७०ः३० को अनुपातमा हुनुपर्छ ।
मर्जरमा गएपछि ७०ः३० को अनुपात नमिलेकाका कारण लघुवित्त कम्पनीहरुले पछिल्लो समय ३० प्रतिशत नपुगेको अंश बराबर रकमको एफपीओ निष्कासन गरेर पुर्याउने गरेको एक लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतले लोकवित्त डटकमलाई बताए ।