ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 07:24 am
ओम मेगाश्री फर्मास्यूटिकल्सले आज अर्थात् ९माघ २१ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।
यसका साथै कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता शेयर यसपछि सर्वसाधारणका लागि निष्कासन हुनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयर रअधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ। कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।