साताको शेयर समीक्षा : अब बजारले बुलिश यात्रा तय गर्न सक्छ !
Last updated at 08:22 am
यो साता शेयर बजार बढेको छ । यो साता गत साताको तुलनामा २.५५ प्रतिशतले बजार बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार गत साता २हजार ५८८ विन्दुमा रहेको बजार यो साता ६६ अंक बढेर २ हजार ६५४ विन्दुमा बन्द भएको छ ।
यो साता शेयर बजारमा पाँच दिन कारोबार भएको छ । जसमा चार दिन बजार बढेको छ भने एकदिन मात्र बजार घटेको छ ।
अघिल्लो साता ४६.४७ अंकले बजार घटेको थियो ।
यो साता पहिलो कारोबार दिन आइतबार १२.५८ अंक बढेको बजार सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंकले बढेको छ अन्तिम कारोबार दिन बिहीबार भने बजार ११.१० अंकले घटेको छ ।
यो साता पहिलो कारोबार दिन आइतबार ६ अर्ब २५ करोड, सोमबार ६ अर्ब ५७ करोड, मंगलबार ६ अर्ब १९ करोड, बुधबार ९ अर्ब २० करोड र बिहीबार ७ अर्ब ८५ करोडको भएको छ। यस हिसाबमा यो साता ३६ अर्ब ८ करोडबराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो साता चार कारोबार दिनमा २२ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । यसलाई तुलनात्मक रुपमा आधारमान्दा यो साता बजार र काराबोर दुबै बढेको छ ।
यो साताको बजार पूँजीकरण पनि बढेको छ । यो साता बजार ४४ खर्ब रुपै पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ४२ खर्ब ९३ अर्ब रुपैयाँ बराबर रहेकोमा यो साता बजार पूँजीकरण ४४ खर्ब रुपैयाँ हाराहारीमा पुगेको छ । अर्थात् यो साता बजार पूँजीकरण पनि १ खर्ब ७ अर्बले बढेको छ ।
नेप्सेका अनुसार यो साता वित्त उपसमूह बाहेक सबै सेक्टर बढेका छन् । वित्त उपसमूह भने यो साता २.८४ प्रतिशतले घटेको छ। गत साता पनि यो उपसमूह सबैभन्दा धेरै घटेको थियो । यो साता अन्य उपसमूह सबैभन्दा धेरै अर्थात् ९.४० प्रतिशतले बढेको अवस्था छ।
विगत केही सातादेखि नै वित्त उपसमूह ओरालो लागेको देखिन्छ । यो साता सार्वजनिक भएको दोश्रो त्रैमासिक वित्तीय विवरणले वित्त उपसमूहलाई तल झार्न थप टेवा पुगेको हो ।अधिकांश वित्त कम्पनीको वित्तीय स्थिति कमजोर देखिन्छन् । ती मध्ये कतिपयको निष्क्रिय कर्जा ४० प्रतिशतसम्म पुगेको देखिन्छ भने कम्पनीहरुको खुद नाफा पनि ऋणात्मक नै छ ।
अन्य उपसमूह ९ प्रतिशत बढ्यो
नेप्समा सूचीकृत अन्य समूहमा जम्मा ६ वटा कम्पनी छन् । यो समूहमा सूचीकृत कम्पनी नेपाल टेलिकम, नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले समग्र समूहलाई नै ठूलो प्रभाव पार्ने गरेको देखिन्छ ।जसले गर्दा मूल्य बढ्दा यी तीनै कम्पनीको मूल्य बढेको छ ।अन्य समूह सबैभन्दा धेरै ९.४० प्रतिशत बढेकाले साताको बजार वृद्धिमा थप टेवा पुग्न गएको हो ।
यो साता कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा माथि देखिन्छ। यसपछि क्रमशः नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर लगायत छन्
त्यस्तै कारोबार संख्याका आधारमा यो साता हिमालयन रिइन्स्योरेन्स सबैभन्दा माथि छ। यो कम्पनीपछि नेपाल पुनर्बीमा, पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्सलगायत छन्।
तुलनात्मक रुपमा समीक्षा गर्दा अघिल्लो साताको तुलनामा यो साता बढेकाले बजारले माथिको यात्रा तय गर्न थालेको जस्तो देखिन्छ । कतिपय लगानीकर्ताहरु बजार घट्नु पर्ने कारण केही नरहेकाले आगामी साता बजार विस्तारै क्रमिक रुपम उकालो लाग्ने बताउँछन् ।
लगानीकर्ता केशव सुवेदी प्राविधिक रुपमा पनि बजारले बुलिश यात्रा तय गर्न थालेकाले आगामी साता बजारले लय समात्ने सम्भाबना रहेको बताउँछन् ।