४७ अंक घटेको बजारले आगामी साता कस्तो लय समात्ला ?
Last updated at 08:12 am
यो साताभर धितोपत्र बजार लगातार घटेको छ ।
नेपाल स्टक एक्सचेञ्चजका अनुसार यो साता धितोपत्र बजारमा जम्मा चार दिन कारोबार भएको छ । सो अवधिमा बजार तीन दिन घटेको छ भने एकदिनमात्र बजार बढेको छ ।
अघिल्लो साता २ हजार ६३५.९ विन्दुमा बन्द भएको बजार यो साता भने २ हजार ५८८.६२ विन्दुमा बन्द भएको छ । यो साता शेयर बजार ४७ अंक अर्थात् १.७ प्रतिशतले घटेको छ ।त्यसो तअघिल्लो साता भने नेप्से परिसूचक ४८.८६ अंकले बढेको थियो ।
पहिलो दिन आइतबार २५.४१ अंक र सोमबार १५.५४ अंकले बजार घट्दा बजार बुधबार भने १.८३ अंकले बढेको थियो । अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले बजार घटेको थियो ।
यो साता २२ अर्ब ४० करोड रुपैयाँ बराबरको धितोपत्रको खरिदबिक्री भएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको छ भने सोमबार ६ अर्ब १८ करोड, बुधबार ५ अर्ब ७८ करोड र बिहीबार ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको छ।
अघिल्लो साता भने ३० अर्ब २६ करोड रुपैयाँबराबरको धितोपत्रको खरिदबिक्री भएको थियो । नेप्सेका अनुसार यो साता समग्रमा नेप्से परिसूचक र कारोबोर दुबै घटेको छ । त्यस्तै यो साता बजार पूँजीकरण ४२ खर्ब ९३ अर्ब रुपैयाँ कायम छ ।
अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ७० अर्ब रुपैयाँ थियो । यो साता बजार पूँजीकरण पनि करिब ७७ अर्बले रुपैयाँले घटेको छ।सूचीकृत कम्पनीहरूको शेयरमूल्य घटेसँगै कुल बजार पूँजीकरण पनि घट्न गएको हो।
यो साताको कारोबारमा सबै समूहगत परिसूचकहरू घटेका छन् । यो साता सबैभन्दा धेरै वित्त समूहको परिसूचक सर्वाधिक १२ दशमलव ९६ प्रतिशतले घटेको छ । कारोबारको पहिलो दिन ३.६० अंकले घटेको वित्त समूह दोस्रो दिन सोमबार १.३२ अंकले घटेको थियो। त्यसपछि तेस्रो दिन मंगलबार थप ३.४८ अंक रअन्तिम कारोबार दिन बिहीबार पनि ५.१९ अंकले घटेको थियो ।
यो समूहपछि बैंकिङ समूहको परिसूचक २ दशमलव ७५ प्रतिशत, लघुवित्तको २ दशमलव ३८ प्रतिशत, विकास बैंकको २ प्रतिशतले घटेको छ।
त्यसो त यो साता जलविद्युत समूहका लगानीकर्ताले सबैभन्दा कम गुमाएका छन् ।कतिपय लगानीकर्ताहरु वित्त कम्पनीका लगानीकर्ताले यो क्षेत्रमा बढी जोखिम रहेको महसुस गरेका कारण धितोपत्र बिक्री चाप बढेको बताउँछन् ।हुन विगतमा वित्त समूह निक्कै बढेको थियो ।
समग्रमा हाल धितोपत्र बजारको समग्र अवस्था बियरिस ट्रेण्डमा रहेकोले लगानीकर्ता थप अन्योलमा परेको देखिन्छन् । बजारमा दबाब कायमै रहेको अवस्थामा आगामी साता बजार कता जाला भन्न गाह्रो रहेको लगानीकर्ता सन्तोष सुवेदी बताउँछन् ।