शेयर बजारमा सुधार, लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा
Last updated at 03:20 am
यो साता धितोपत्र बजार ४९ अंक अर्थात् १.९ प्रतिशतले बढेको छ । गत साता २ हजार ५८६ अंकमा बन्द भएको बजार यो साता २ हजार ६३५ मा बन्द भएको छ ।
यो साता पाँच दिनको कारोबारमा चार दिन बजार बढ्यो भने अन्तिम दिन बिहीबार बजार घटेको छ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार शून्य दशमलव ६८ प्रतिशतले घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६३५ दशमलव ०९ विन्दु कायम भएको छ ।
अघिल्लो सातादेखि नै बजारमा तिव्र उतारचढाव आइरहेको भएता पनि यो साता बजारमा ४८.८६ अंकको सुधार भएको देखिन्छ । अघिल्लो साता भने बजार ४४.४८ अंकले तल झरेको थियो । त्यसो त यो साता नेप्सेमा ३० अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता भने १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो साता बजार र कारोबार दुबै बढेको छ । यो साता बजार पूँजीकरण ४३ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ४२ खर्ब ८९ अर्ब थियो । यो साता बजार पूँजीकरण पनि करिब ८१ अर्ब रुपैयाँले बढेको छ ।
यो साता समग्रमा हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै अर्थात् ५.५७ प्रतिशतले बढेको छ। विगत केही साता हाइड्रोपावर उपसमूहमा लगानीकर्ताको आकर्षण देखिन्छ । बढ्दा धेरै बढ्ने र घट्दा थोरै अंक मात्रै घट्ने अवस्थाले यो उपसमूहमा आकर्षण थपिएको छ ।
पछिल्लो समय घट्दो ब्याजदरका कारण हाइड्रोपावर कम्पनीको ब्याज लागत घट्न गई वित्तीय विवरण राम्रो देखिन थालेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरण थप राम्रो आउने अनुमान लगानीकर्ताको छ । जसले गर्दा हाइड्रोपावर उपसमूहमा लगानीकर्ताको आकर्षण छ ।
तर बैंकहरुमा भने अवस्था ठीक उल्टो छ । बैंकहरुको दोस्रो त्रैमासिक रिपोर्ट पनि कमजोर आउने अनुमान छ ।समूहगत रुपमा हेर्दा यो साता कारोबारमा सुधार आएको देखिन्छ भने वाणिज्य बैंक समूहमा बिक्री दबाब देखिएको थियो तर बाँकी सबै उपसमूहमा हरियाली छाएको थियो ।
अघिल्लो साता घटेको बजारमा यो साता सुधार भएको र कारोबार तथा भोल्युममा पनि सुधार आएकाले यो साता बजार बजार बढ्ने सम्भाबना रहेको लगानीकर्ताहरु बताउँछन्। उनीहरुका अनुसार बैंकतर्फ दबाब कायमै रहेता पनि अरु उपसमूहमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।