भारतीय बजेट सार्वजनिक : ५०६ खर्ब बढीको बजेटमा नेपाललाई ७ अर्ब अनुदान
Last updated at 07:24 am
भारत सरकारले शनिवार वित्त वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। त्यहाँको केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले भारतीय संसदमा बजेट पेश गरेकी हुन् ।
उनले ५०६ खर्ब ५३ अर्ब ४५ करोड भारुको बजेट पेश गरेकी हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा भारतको बजेटको आकार ५.०८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष भारतले ४८२ खर्ब ५ अर्बको बजेट ल्याएको थियो।
कुल ५०६ खर्ब ५३ अर्ब ४५ करोडको बजेट ल्याईएकोमा राजस्वबाट ३४२ खर्ब ४ अर्ब ९ करोड उठाउने लक्ष्य छ। जसमा २८३ खर्ब ७४ अर्ब ९ करोड कर राजस्व छ भने ५८ खर्ब ३० गैह्रकर राजस्वबाट उठाउने लक्ष्य छ। त्यस्तै १६४ खर्ब ४९ अर्ब ३६ करोड अन्य माध्यमबाट उठाउने लक्ष्य छ। जसमा २ खर्ब ९० अर्ब ऋण असुलीबाट, तथा १५६ खर्ब ८९ अर्ब ३६ करोड उधारो, ऋण तथा अन्य दायित्वबाट बहन हुने छ। भारतले बजेटमार्फत १२ लाखसम्म वार्षिक आम्दानी भएकालाई आयकर नलाग्ने व्यवस्था गरेको छ।
भारतले बजेटमार्फत् छिमेकी मुलक र अन्य देशहरुलाई दिनको लागि अनुदान रकम पनि छुट्याएको छ। जसमा भारतले नेपाललाई ७ अर्ब भारु अनुदान दिने भएको छ। नेपाललाई गत वर्ष पनि भारतले ७ अर्ब नै अनुदान छुट्याएको थियो। नेपाल भारतीय सहयोग प्राप्त गर्ने दोस्रो ठूलो देश हो ।पहिलो स्थानमा भने भुटान छ । भारतले भुटानलाई दिने अनुदान १६ अर्ब ७३ करोडबाट बढाएर १७ अर्ब ७५ करोड पुर्याइएको छ।
अफगानिस्तानलाई दिने अनुदान ५० करोडबाट १०० करोड पुर्याइएको छ। भारतले बंगलादेशलाई १ अर्ब २० करोड, श्रीलंकालाई ३ अर्ब, माल्दिभ्सलाई ६ अर्ब, म्यान्मारलाई ३ अर्ब ५० करोड, मंगोलियालाई ५ करोड तथा अफ्रिकी देशहरुलाई २ अर्ब २५ करोड नगद अनुदान दिने भएको छ।
भारतमा अप्रिल १ देखि नयाँ आर्थिक वर्ष शुरु हुन्छ। नरेन्द्र मोदी तेस्रो पटक सत्तामा आएपछि यो तेस्रो बजेट हो। मोदीको तेस्रो कार्यकालमा निर्मलाको यो दोस्रो बजेट भाषण हो । एजेन्सीहरुका अनुसार उनले लगातार ८ पटक बजेट भाषण गरेर नयाँ रेकर्ड समेत बनाएकी छिन् । उनले एनडीए सरकारको कार्यकालमा ६ वार्षिक र दुई अन्तरिम बजेटहरू प्रस्तुत गरिसकेकी छन्।
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३ देखि ६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक जीडीपी र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहेको अनुमान छ । एजेन्सीहरु