पहिलो त्रैमासमा नेपाल टेलिकम : आम्दानी र मुनाफा दुवै घट्यो
Last updated at 10:18 am
दुर सञ्चार सेवा प्रदायक नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा २३ दशमलव ८२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ४७ करोड रुपैयाँ बराबरकमो कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीले १० अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आवको तुलनामा ५ दशमलव ८९ प्रतिशतले कम हो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको रिजर्भ कोषमा ७३ अर्ब ३ करोड रुपैयाँ बराबर छ । यो पनि अघिल्लो आवको सोही अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशतले कम हो । यसैगरी, कम्पनीको कुल चालू सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ छ भने कुल चालू दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ दशमलव ४५ रुपैयाँ छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ५०५ दशमलव ७५ रुपैयाँछ भने मूल्य आम्दानी अनुपात २८ दशमलव ७२ गुणा छ ।
कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ छ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५५ रुपैयाँ छ ।
आय र नाफामा गिरावट हुनेको प्रमुख कारण:
१. ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको तुलनामा करिब १० करोड ९७ लाख ४२ हजार (अर्थात् १७ दशमलव २९ प्रतिशत) ले कम भएको छ ।
२. बजारमा व्याजदरमा ह्रास आएकोले मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ५० करोडले घट्नुको कारण व्याज आम्दानीमा ४९ प्रतिशतले कमी आएको छ ।
३. कर्मचारी सुविधा खर्चतर्फ कर्मचारी बीमा खर्च १ दशमलव ९५ करोडले बढेको छ भने कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको डिस्काउन्ट रेट ७ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशत भएकोले कर्मचारी अवकाश सम्बन्धी खर्च १६ दशमलव ५ करोडले बढेको छ, जसका कारण कुल कर्मचारी खर्चमा ८ दशमलव ८ करोडले वृद्धि भएको छ ।
कम्पनीले राष्ट्रको सञ्चार भएकाले आर्थिक चुनौतीका बीच सेवा सुधार र आधुनिकीकरणका योजनामा निरन्तर अघि बढिरहेको जनाएको छ ।
