आशा लघुवित्तले कमायो साढे ६ करोड नाफा,यस्ता छन् प्रमुख सूचकहरु
Last updated at 07:40 am
आशा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिसम्ममा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ९५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा टेवा पुगेको हो ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६० दशमलव ६७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७५ दशमलव ९८ प्रतिशतले बढेर ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले यसतर्फ ५ करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।
त्यसैगरी, कम्पनीको रिजर्भ कोषमा ३४ करोड २७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ३८ पैसा छ । कम्पनीको चुक्तापूँजी ७३ करोड ३० लाख रुपैयाँ छ ।
साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३० रुपैयाँ ९० पैसा छ ।