चालू आवमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान
Last updated at 03:13 pm
चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।
उपप्रधान् एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्दै नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेका हुन् ।
सरकारले चालू आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२दशमलव ८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२दशमलव शून्य १ प्रतिशत रहने अनुमान गरेको छ।
सरकारले प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जनाएको छ । औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको सरकारले जनाएको छ ।
यसैगरी, चालू आवमा मुलुकको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहने अनुमान छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान छ।
यसैगरी,मुलुकको मानव विकास सूचकांकमा उल्लेख्य सुधार भएको छ।आर्थिक सर्वेक्षणमा यस्तो सूचकांक बढेर शून्य दशमलव ६२ प्रतिशत पुगेको उल्लेख छ।
यस्तै सडक लम्बाई कच्चीसमेत जोडेर ३६ हजार १३२ किलोमिटर पुगेको छ।इन्टरनेट ग्राहकको घनत्व १४४ प्रतिशत पुगेको छ।७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजन पुगेको छ।