पैचो पसलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
Last updated at 07:40 am
पैचो पसल प्रालिले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
रुपन्देहीको बुटवलमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझ पुर्याउँदै आइरहेको छ ।
यसैगरी, उक्त कम्पनीले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आइरहेको छ । खाद्य कम्पनीमात्र नभई बीउबिजन उत्पादनदेखि उत्पादित वस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याउन सफल कम्पनीसमेत हो ।
कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सृजना गरिरहेको बताएको छ ।
कम्पनीले आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको बताएको छ ।