बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छौं : उद्योगमन्त्री
Last updated at 03:49 pm
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानूनलाई नयाँ ढंगबाट अगाडि बढाउने तयारी भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वव्यापी बौद्धिक सम्पत्ति सम्बन्धी सन्दर्भमा नेपालमा नयाँ कानून आवश्यक भएको बताए। साथै उनले नेपाली मौलिकतासँग जोडिएका विषयलाई लिपिबद्ध गरी पेटेन्ट राइटलाई सुरक्षित गर्नेगरी कानून निर्माण प्रक्रियामा सरकार लागेको पनि बताए ।
उनले बौद्धिक सम्पत्ति सम्बन्धी कानून छिट्टै मन्त्रिपरिषद्मा निर्णय गराएर संसदमा प्रवेश गराउने तयारी रहेको बताए ।पेटेन्ट राइटबारे अहिलेको विद्यमान कानूनले सम्बन्धित विषयमा आएका उजुरीको समाधान मात्र गरिरहेको उनको भनाइ छ। उनले नेपालभन्दा पछाडि रहेका कतिपय देशहरूले पेटेन्ट राइट सुरक्षित गरेर विश्व बजारबाट फाइदा लिएको बताए।
बौद्धिक सम्पत्ति सम्बन्धी नेपालको कानूनमा व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयको फरक व्याख्याका कारण समस्या भएको उनको भनाइ छ।
मन्त्री भण्डारीले पूर्खाले सृजना गरेका कतिपय बौद्धिक सम्पत्तिको नाममा संस्था खोलेर त्यसको परिचय दिइए पनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताए।
उनले विदेशी डिजाइन र पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन र उत्पादनमा पछि परेको बताए । उनले पेटेन्ट राइटका लागि पूर्खाले छोडेर गएका संस्कृतिसँग जोडिएका थुप्रै विषयहरू रहेको बताए । कतिपय पेटेन्ट राइटका विषयहरू दर्ता गरेर नविकरण नगर्दा समस्या देखिएको उनको भनाइ थियो ।