एनटीडीसीले आईपीओ निष्कासन गर्ने, एनएमबी क्यापिटलसँग सम्झौता
Last updated at 02:42 pm
चिया उत्पादक तथा वितरक कम्पनी नेपाल टी विकास निगम लिमिटेड (एनटीडीसी) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउँदै एनएमबी क्यापिटलसँग सम्झौता गरेको छ।
शनिबार सम्पन्न कार्यक्रममा एनटीडीसीका कार्यकारी अध्यक्ष सुभाष चन्द्र सांगई र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्य बीच आईपीओ व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ।
सन् १९६६ मा स्थापना भएको एनटीडीसीले गोल्ड लिफ, मसला टी, सीटीसी, ग्रीन टी, अर्थोडक्स टी जस्ता विभिन्न प्रकारका चियाहरू उत्पादन गर्दै आएको छ।
टोकला र इलाम ब्रान्डमार्फत चिनिएको कम्पनीको चिया स्वाद, गुणस्तर र सुगन्धको निरन्तरताका लागि अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय छ। हाल कम्पनीले रुस, युरोप, जापान, भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकालगायतका देशहरूमा चिया निर्यात गर्दै आएको छ।
आगामी रणनीतिक विस्तार योजना अनुरूप एनटीडीसीले ६ लाख कित्ता साधारण शेयर निष्कासन गरी सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ। उक्त प्रक्रिया व्यवस्थापनको जिम्मेवारी एनएमबी क्यापिटललाई दिइएको कम्पनीले बताएकाे छ।
सम्झौतापछि अध्यक्ष सांगईले भने, “एनटीडीसीको आईपीओ प्रक्रियामा प्रवेश गर्नु गौरवको कुरा हो। एनएमबी क्यापिटलसँगको सहकार्यप्रति हामी विश्वस्त छौँ। यस कदमले लगानीकर्तालाई मूल्य दिने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।”
एनएमबी क्यापिटलका प्रमुख कार्यकारी वैद्यले भने, “नेपाल टी विकास निगमजस्तो प्रतिष्ठित कम्पनीको आईपीओ व्यवस्थापन गर्ने अवसर पाउनुमा हामी गौरवान्वित छौँ। सफल र पारदर्शी निष्कासन प्रक्रियाका लागि हामी पूर्ण समर्थन दिनेछौँ।”
एनटीडीसीको आईपीओबाट कम्पनीको शेयरधनी संरचना व्यापक बनाउने र चिया उद्योगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल बलियो बनाउने अपेक्षा गरिएको छ।