९ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड राजस्व संकलन
Last updated at 07:01 am
चालू आर्थिक वर्ष २०८१/ ०८२ को नौ महिनाको अवधिमा मुलुकभरमा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालू आवमा सबैभन्दा बढी चैत महिनामा राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा विभागले बताएको छ ।विभागका अनुसार चैतमा मात्रै ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ संकलन भएको छ ।
विभागले सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शूल्क, डोर सुविधा, पूँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व उठाउँदै आएको छ । पूँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै संघ सरकारको खातामा जाने विभागले जनाएको छ ।
विभागका अनुसार साउन महिनामा३ अर्ब ८३ करोड ५० लाख संकलन भएको छ भने भदौ महिनामा ३ अर्ब ९ करोड २ लाख र असोज महिनामा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएको छ ।
त्यसैगरी,कात्तिक महिनामा २ अर्ब ७० करोढ ४० लाख, मंसिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख, पुस महिनामा ४ अर्ब २५ करोड २२ लाख, माघ महिनामा ३ अर्ब ८७ करोड २४ लाख, फागुन महिनामा ४ अर्ब १२ करोड र चैत महिनामा ४ अर्ब ३९ करोड ४६ लाख राजस्व संकलन भएको छ ।