आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिऔं : निजी क्षेत्र
Last updated at 08:36 pm
निजी क्षेत्रले मुलुकले कृषि क्षेत्रबाट फाइदा लिन आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ ।
यस क्षेत्रका अगुवाहरुले कृषि क्षेत्रको बजेट ज्यादै न्युन रहेको उल्लेख गर्दै आगामी बजेटमा कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्न दिन समेत आग्रह गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागीहरुले कृषि क्षेत्रमा लगानी र निर्यात प्रवर्द्धन सम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा विज्ञ तथा सरकोरावाहरुले नेपालको भौगोलिक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक स्रोत साधन हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना रहेपनि त्यसबाट फाइदा लिन नसकिएको धारणा राखे ।
लगानी तथा निर्यात प्रवर्द्धनका लागि तीनै तहका सरकारले नीतिगत सुधार, कृषिमा लगानी प्रवर्द्धन र निर्यात प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्नेमा उनीहरुको जोड थियो ।
सम्मेलनको उट्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको दीर्घकालिन विकासका लागि सरकारले एकीकृत कृषि नीति ल्याउने तयारी गरिरहेको बताए ।
यस्तै उनले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र नीजि क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने बताए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेपनि बजेटमा सधैं कृषि क्षेत्रलाई उपेक्षा गरिएको बताए ।
त्यसैगरी, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले बनाउने नीतिमा निजी क्षेत्रलाई साक्षीका रुपमा मात्र नराख्न र कार्यान्वयन योग्य कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।