रोजगारदाता र श्रमिकलाई छिटो सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह
Last updated at 11:18 am
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता र श्रमिकहरूलाई जतिसक्दो छिटो सामाजिक सुरक्षा कोष(एसएसएफ) मा सूचीकृत हुन आग्रह गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै विभागले सूचीकृत भएर पनि योगदान नगरेकाहरूलाई समेत नियमित योगदान गर्न आग्रह गरेको हो।कोषमा मासिक रूपमा नियमित रकम जम्मा गर्नुपर्ने व्यवस्था भए पनि कतिपयले योगदान नगरेको पाइएको विभागले जनाएको छ।
श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनमा छ।
सामाजिक सुरक्षा कोषमा श्रमिकले ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
नेपालको सामाजिक सुरक्षा व्यवस्थित र विस्तार गर्ने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०६६/६७ बाट सामाजिक सुरक्षा कर अवधारणा ल्याएको हो । त्यसपछि सामाजिक सुरक्षा कोष स्थापना भएको हो ।
कोषले २०७५,मंसिर ११ गतेबाट औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका लागि सामाजिक सुरक्षा योजनाको सुरु गर्यो । यसलाई २०७६, साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याइयो ।
२०७९ चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिक र २०८०,साउन ३१गतेबाट अनौपचारिक र स्वरोजगार श्रमिक समेत आबद्ध हुन सक्ने गरी कोषले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।