एनसी एग्रोटेक इण्डष्ट्रिजको आईपीओ निष्कासनकर्तामा ग्लोबल आइएमई क्यापिटल
Last updated at 08:56 pm
एनसी एग्रोटेक इण्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सो सम्बन्धमा आइतबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कम्पनीको तर्फबाट सञ्चालक दीपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
विसं २०७५ कात्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको उक्त कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टोखा नगरपालिकामा छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासीको गैडाकोट–१४, नवलपुरमा अवस्थित छ।
कम्पनीले नेपाल सरकारको कृषि दशक अभियान अन्तर्गत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने तथा च्याउ विदेश निर्यात गर्ने लक्ष्य राखेको छ।
साथै, कम्पनीले औषधीय महत्व बोकेका यार्सागुम्बा, लायन्समाने, गानोडर्मा, टर्कीटेल, सिताके, ग्रीफोला लगायतका च्याउको माइसेलियम उत्पादन गरी क्याप्सुल निर्माण तथा निर्यात गरिरहेको छ।
त्यस्तै, कम्पनीले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप, क्यान मशरुम लगायतका उत्पादनहरू गरिरहेको छ। च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरका किसान तथा व्यवसायिक कृषकहरूलाई वितरण गर्दै आइरहेको कम्पनीले बाँस प्रशोधनबाट निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरणमैत्री संरचना निर्माणसमेत गरिरहेको छ।
कम्पनीले विभिन्न खालका च्याउको व्यावसायिक तालिम, उत्पादन प्रविधि र च्याउका बीउबिजन उपलब्ध गराउँदै आइरहेको छ। साथै, अत्याधुनिक प्रविधि प्रयोग गरी बाँसका टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका उत्पादनहरू गर्दै आएको छ।
कम्पनीमा प्रतिष्ठित व्यवसायी, च्याउ विज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य विशेषज्ञहरू संलग्न छन्। कम्पनीले खेर गइरहेका कृषि उपजहरूलाई उपयोग गर्दै नवीनतम प्रविधिमा आधारित च्याउ उत्पादन प्रणालीलाई विस्तार गर्ने लक्ष्य राखेको बताएको छ ।