‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने योजनामा उद्योग परिसंघ
Last updated at 07:38 am
नेपाल उद्योग परिसंघ (सीएनआई) ले अगामी चैत ३ गते काठमाडौंमा अन्तरराष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सीएनआईले बताएको छ । सम्मेलन आयोजना गर्न सीएनआई उमन लिडरसिप फोरमले संयोजन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल हुनेछ ।
पत्रकार सम्मेलनमा सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहन रूपमा छलफल हुने बताए ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिलासहित करिब ५०० जनाको सहभागिता हुने छ ।
सो अवसरमा सीएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।टाइटल स्पोन्सर नबिल बैंक रहेको छ । सम्मेलनमा ‘मेक इन नेपाल’ स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने आयोजकले बताएको छ ।