सञ्चालनमा आयो नेपालकै ठूलो कागज कारखाना, आइएमई ग्रूपको मूख्य लगानी
Last updated at 11:48 am
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा महोत्तरीमा स्थापित कागज कारखाना बिहीबारदेखि सञ्चालनमा आएको छ ।
‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आइएमई ग्रूपको २ अर्ब रुपैयाँभन्दा बढी लगानी छ । विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न रहेको आइएमई ग्रूपले थप व्यवसाय शुरु गरेको हो ।महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रामनगरमा रहेको यस उद्योगमा अरु नेपाली लगानीकर्ताहरुको पनि लगानी छ ।
विसं २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ । अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सृजना गर्ने लक्ष्य लिएको बताएका छन् ।
नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको बताए ।उनले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने बताए ।
उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने कम्पनीको दाबी छ ।विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ४० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ ।
उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।