पोखरा -ल्हासा उडान, हिमालय एयरलाइन्सले सातामा एकपटक गर्ने
Last updated at 06:00 pm
निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ ।
उक्त विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि उक्त कम्पनीले पहिलो व्यवसायिक उडान शुरु गर्न लागेको हो ।काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं जोड्नेगरी उडान गर्न लागेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ ।
त्यसैगरी, चिनियाँ सिचुवान एयरलाइन्सले पनि आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । तर क्यानबाट उसले उडान अनुमतिलगायत प्रक्रिया पूरा गरिसकेको छैन । पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी छ ।