बिपी राजमार्ग पुनर्निर्माणका लागि अर्थमन्त्रालयद्वारा ८ अर्बको सहमति
Last updated at 09:28 pm
अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब रुपैयाँको सहमति दिएको छ ।
यससँगै सरकारले बिपी राजमार्ग ठेक्का लगाउने तयारी गरेको छ । गत असोज दोस्रो साता आएको बाढीले क्षति पुर्याएको सडक सरकारले आफैं बनाउने भएको हो । हाल राजमार्गमा अस्थायी संरचनाका लागि काम भइरहेका छन् ।उक्त मन्त्रालयले तत्काल १० प्रतिशत रकम उपलब्ध गराउने र बाँकी कामसँगै निकासा गर्ने सहमति भएको बताएको छ।
करिब ९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त सडक पुनर्निर्माण गर्न दातृ निकायले चासो देखाए सोही अनुसार सहकार्य गर्दै जाने र अहिलेका लागि बर्खाअघि यातायात सञ्चालन सहज बनाउने गरी कार्य शुरु गरेको मन्त्रालयको भनाइ छ ।
गत असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गसहित ६ वटा सडक र पुल पुनर्निर्माणका लागि मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।
अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण १५८ किलोमिटर लामो उक्त राजमार्गको झन्डै नौ किलोमिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको सडक विभागले जनाएको छ।
मन्त्रालयका अनुसार विनियोजित बजेटको ठूलो हिस्सा सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गका लागि छुट्याइएको छ। कुल विनियोजित रकममध्ये बीपी राजमार्गको पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ।
जापानले निर्माण गरिदिएको उक्त राजमार्ग पुनर्निर्माणका लागि सरकारले यसअघि जापान सरकारलाई अनुरोध गरेको थियो। तर तत्काल सकारात्मक प्रतिक्रिया प्राप्त नभएकाले सरकारले पहल शुरु गरेको हो ।