६ महिनामा विद्युत् प्राधिकरणले कमायो ११ अर्ब ३६ करोड नाफा
Last updated at 06:15 pm
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/ ०८२ को छ महिनासम्ममा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको प्राधिकरणले बताएको छ । साउनदेखि पुससम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरु निरन्तर नाफामा छ । आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
आर्जित नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सकंलन गरेको छ । सोही अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ ।
खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोडरुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फबाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।