व्यापार विस्तार गर्न नेपाल वायुसेवा निगम र जापान एयरलाइन्स बीच सम्झौता
Last updated at 06:32 pm
नेपाल वायुसेवा निगम र जापान एयरलाइन्स बीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार सिधा उडान मार्फत जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुने छ।
उक्त सम्झौताअनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ।
त्यसैगरी सोही नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरू सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने छन्। यसबाट नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले जनाएको छ।
निगमका अनुसार यसबाट नेपाल र जापानबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध थप सुदृढ हुनेछ।साथै यात्रुलाई जापानका विभिन्न गन्तव्यहरुमा सहज पहुँचको अवसर प्रदान हुने एवं जापानी पर्यटकलाई पनि उच्च स्तरको सुविधासहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरू बनाउन सहज हुने छ ।
योसहित निगमसँग प्यासेन्जर इन्टरलाइन पार्टनरसीप एग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ ।निगमसँग कार्गो पार्टरसीप सहमित गर्ने एयरलाइन्सको संख्या भने २८ छ ।
आगामी दिनमा निगमको जहाजको संख्या थपिएसँगै निगमको विश्वव्यापी संजाल अझै फैलिने विश्वास निगमले लिएको छ ।