फोनपे तथा पार्टनर बैंकद्वारा “सक्षम नारी” अभियान शुरू
Last updated at 07:31 am
डिजिटल वालेट फोनपेले “सक्षम नारी” नामक नयाँ अभियान शुरु गरेको छ। राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, ई सेवा र एभरेष्ट बैंकसँगको साझेदारीमा यो अभियान सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ।
यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु रहेको कम्पनीको भनाइ छ ।
महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्वपूर्ण रहेको छ र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरुलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ।
कम्पनीका अनुसार “सक्षम नारी” अभियानको मुख्य उद्देश्य महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्नु हो। यस अभियानले महिलाहरुलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नुका साथै महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्न सक्नेछन् ।
यस अभियानको माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ बारेमा प्रशिक्षण र स्रोतहरू उपलब्ध गराइने छ । महिला प्रयोगकर्ताहरूलाई यस डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ यो अभियान आगामी मार्च ३१ सम्म चल्नेछ। यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरुले पार्टनर बैंकरहरुको मोबाइल बैँकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवाहरु न्युनतम तीन पटकसम्म प्रयोग गर्नुपर्नेछ ।
सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि, फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन्। प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेताले (कुल ‘छ’भाग्यशाली विजेता) नटराज ज्वेलर्सबाट विशेष हीरा गहना प्राप्त गर्नेछन्। साथै, प्रत्येक बैंकबाट ५० महिला विजेताहरूलाई (कुल ३०० महिला) १ हजार रूपैयाँको शपिंग भाउचर प्रदान गरिनेछ ।
अभियानको उद्देश्यका बारेमा बोल्दै, फोनपेकी मार्केटिंग प्रमुख, सलिना नकर्मीले भनिन्, “आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा महिलाहरूको बीचमा एक ठूलो अन्तर छ, जहाँ महिलाहरू मात्र एक तिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्ताहरूमा सीमित छन्। हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन हामी ‘सक्षम नारी’ अभियानलाई पुनः शुरु गर्दैछौं।”
फोनपे नेपालमा सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्था हो र नेपाल राष्ट्र बैंकद्वारा नियन्त्रित र लाइसेन्स प्राप्त कम्पनी हो।