करिब २० खर्ब बराबरको बजेट ल्याउने तयारी
Last updated at 09:49 am
सरकारले आज अर्थात् बिहीबार अपरान्ह ३ बजे आर्थिक वर्ष २०८२ /०८३ को बजेट सार्वजनिक गर्दैछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दैछन् । बजेट भाषणसँगै विनियोजन विधेयक, आर्थिक विधेयक, पेश्की खर्च विधेयक, ऋण तथा जमानत सम्बन्धी विधेयक र राष्ट्र ऋण उठाउने विधेयक समेत संसद्मा प्रस्तुत गरिन्छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको संघीय बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेकाले आज बजेट प्रस्तुत हुन लागेको हो ।सरकारले आगामी आवका लागि करिब २० खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।सरकारले चालू आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो ।
तर, बजेटको अर्धवार्षिक समीक्षा मार्फत सरकारले १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अनुमान गरेको थियो । २० खर्बको बजेट बनाउँदा गत सालको विनियोजन भन्दा ८ प्रतिशत र संशोधित खर्च अनुमानको तुलनामा १८ प्रतिशत ठूलो हुनेछ ।