जीवन बीमक कम्पनीको व्यापार ६६ अर्ब रुपैयाँभन्दा बढी, कसको कति ?
Last updated at 10:06 am
जीवन बीमक कम्पनीहरूले पाँच महिनामा ६६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । चालू आर्थिक वर्ष २०८१र८२ कोे पहिलो पाँच महिना (साउनदेखि मंसिर) सम्ममा जीवन बीमक कम्पनीहरूले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपैयाँ भएको छ । कात्तिकसम्ममा भने ती कम्पनीहरूले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क १२ अर्ब ४७ करोड एक लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क एक अर्ब १८ करोड ९७ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क ५२ अर्ब आठ करोड १९ लाख रुपैयाँ संकलन गरेका छन् ।
यस्तै तीनवटा लघु बीमक कम्पनीहरूले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क २१ करोड १७ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क १९ करोड ४ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क १२ लाख रुपैयाँ संकलन गरेका छन् । लघु जीवन बिमक कम्पनीहरूले पाँच महिनामा ४० करोड ३४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा धेरै बीमाशुल्क संकलन भने नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । मंसिर मसान्तसम्म उक्त कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा नेसनल लाइफ छ । उक्त कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसपछि हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ९९ करोड, एसियन लाइफले ३ अर्ब ३६ करोड, सिटिजन लाइफले २ अर्ब ६५ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड, मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड, प्रभु महालक्ष्मीले १ अर्ब ९४ करोड, रिलायन्स नेपाल लाइफले एक अर्ब ९२ करोड, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ८९ करोड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँबराबर बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै ती कम्पनीहरुले १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँ बीमाङ्क बराबरको ३ लाख ७७ हजार ९२८ वटा बीमालेख बिक्री गरेका छन् । यसैगरी, मंसिरसम्ममा बीमालेखको संख्या १ करोड ३३ लाख ४२ हजार २४६ रहेको छ ।