बैंकका शाखा कार्यालयमा तालाबन्दी र ढुंगामुढा भएकोमा वित्तीय संगठनहरूको ध्यानाकर्षण
Last updated at 12:06 pm
बैंक तथा वित्तीय संस्थाका संगठनहरूले पछिल्लो समय कृषि विकास बैंकको लहानस्थित शाखासहितका विभिन्न बैंकका केही शाखाहरूमा कार्यरत कर्मचारीहरूप्रति लक्षित गरी भइरहेका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुंगामुढा तथा होहल्ला गर्ने कार्यले गर्दा ग्राहकहरू बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित हुन पुगेको यी संस्थाहरूले उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा कपोलकल्पित तथा भ्रमपूर्ण समाचार दिने काम भइरहेको प्रति पनि ती संस्थाहरूले आपत्ति जनाएका हुन्।
ग्राहक तथा आम जनमानसलाई सामाजिक सञ्जालमा देखिने त्यस्ता गलत तथा भ्रामक टिप्पणीहरूमा ध्यान नदिन पनि उनीहरुले अनुरोध गरेका छन्।
सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना तथा समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिन संस्थाहरूले ग्राहकहरूलाई भनेका छन्।
आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरूलाई उनीहरूले आग्रह गरेका छन्।