भारतको एआई पूर्वाधार विकासमा ३ अर्ब डलर लगानी गर्ने योजनामा माइक्रोसफ्ट
Last updated at 04:57 am
अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीको घोषणा गरेको छ ।
बैंगलुरुमा हालैमात्र आयोजित कार्यक्रममा कम्पनीका प्रमुख सत्य नडेलाले भारतको एआई पूर्वाधार मजबुत बनाउन र देशमा नवप्रवर्तनलाई प्रोत्साहन हुने गरी ३ अर्ब डलर लगानी गर्ने बताए ।
भारतमा नयाँ डेटा सेन्टर निर्माण गर्नुका साथै माइक्रोसफ्टको कम्प्युटिङ क्षमतामा सुधार ल्याउन र अत्याधुनिक एआई प्रविधि विकासका लागि उक्त लगानी उपयोग गर्ने योजना रहेको कम्पनीको भनाइ छ । द हिन्दुका कम्पनीले हालै मात्र जियोलगायत भारतीय कम्पनीहरूसँग साझेदारी पनि गरेको छ । विश्वव्यापी एआई प्रतिस्पर्धामा भारत महत्वपूर्ण रहेको उनले बताएका छन् ।
साथै सो अवसरमा उनले भारतलाई एआईको ‘पावरहाउस’ भनेका छन् । सन् २०२८ सम्ममा गिटहबमा भारतीय डेभलपरहरूको सबैभन्दा ठूलो समुदाय निर्माण हुने पनि उनको दाबी छ । उनले सन् २०३० सम्ममा माइक्रोसफ्टले भारतका १ करोड मानिसलाई एआई सिप सिकाउने योजना रहेको पनि सुनाए । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले एआईलाई पहिलो प्राथमिकता दिने भारतको पहललाई सघाउन माइक्रोसफ्ट प्रतिबद्ध रहेको पनि बताएका छन् ।
मोदीले नडेलासँग भेटेर आफूलाई खुशी लागेको र भारतमा माइक्रोसफ्टको महत्त्वाकांक्षी विस्तार र लगानी योजनाबारे थाहा पाउँदा थप हर्षित भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।उक्त कम्पनीले हालै मात्र २०२५ भित्रमा एआई डेटा सेन्टरहरू निर्माणका लागि ८० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । यसको आधाभन्दा बढी लगानी अमेरिकामा गरिनेछ ।एजेन्सीको सहयोगमा