बिवाइडी हाइटेक विक शुरु, विभिन्न मोडलहरु सार्वजनिक हुँदै
Last updated at 10:36 am
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिवाइडी हाइटेक विक २०२५ शुरु भएको छ । बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले शुरु गरेको बिवाइडी विक इभेन्ट २ मार्चसम्म सञ्चालन हुनेछ ।
इभेन्टमा बिवाइडीका अत्याधुनिक सवारीसाधन याङवाङ यू–८, एफसिबी बाओ–५, डेन्जा जेड९जिटी, डेन्जा जेड–९ र बिवाइडी सार्क–६ सार्वजनिक गरिएको छ । याङवाङ यू–८ सुपर कार हो, जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ । यो सुपर कार आपत्कालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्छ ।
बिवाइडीले हाइटेक विकमा सार्वजनिक गरिएको प्लगइन हाइब्रिड पिकअप सार्क–६ र लक्जरी एमपिभी जेन्डा जेड–९ जिटी छिट्टै नेपालमा बिक्री गर्ने तयारी गरेको छ । इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ । जसमा बिवाइडीका पछिल्ला मोडेल उपलब्ध छन् ।
अटोमेटिभ इन्नोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बिवाइडीको प्रतिबद्धतालाई हाइटेक विकले पुष्टि गर्ने प्लाटफर्मको रूपमा काम गर्ने कम्पनीको भनाइ छ । यहाँ सोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बिवाइडीको नेतृत्वलाई जोड दिन्छ ।
इभेन्टमा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘न्यू इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सीमालाई बिवाइडीले लगातार रूपमा पार गरिरहेको छ ।’