७ महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब १ खर्ब प्रिमियम,कसको कति ?
Last updated at 06:35 am
जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८१/ ०८२ को माघ मसान्तसम्ममा झण्डै एक खर्ब बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार १४ जीनव बीमा कम्पनीले उक्त अवधिसम्ममा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।
यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनाामा ९ दशमलव ७९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा ती कम्पनीहरुले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
चालू आवको माघ महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले सो अवधिसम्ममा २६ अर्ब ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२ दशमलव शून्य ६ प्रतिशतले बढी हो ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले यस अवधिसम्म ११ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ११ दशमलव ७८ प्रतिशतले बढी हो ।
यसैगरी, चालू आवको सोही अवधिसम्ममा एलआईसी नेपालले ११ अर्ब १७ करोड, हिमालयन लाइफले ९ अर्ब ९० करोड, सूर्यज्योति लाइफले ५ अर्ब ९५ करोड, एशियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
त्यस्तै,सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ३७ करोड, आइएमई लाइफले २ अर्ब ९० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।